कभर स्टोरी

कालोबजारी गर्ने एक व्यापारी पक्राउ

By Bala Adhikari

August 09, 2018

लहान, साउन २४ । तोकिएको दररेटभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिकाबाट एक व्यापारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ थानाचोकस्थित लक्ष्मी खाद्य भण्डार पसलका सञ्चालक ३५ वर्षीय मुकेशप्रसाद गुप्ता रहेका छन् । मलको कालोबजारी गरिरहेको सूचनाको आधारमा प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको बताइएको छ ।

डिएपी मल प्रतिबोरा रु दुई हजार ३०० मा बिक्री गर्नुपर्नेमा सञ्चालक गुप्ताले प्रतिबोरा रु दुई हजार ५०० का दरले बिक्री गरिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जनाएका छन् ।

गुप्तामाथि कालोबजार ऐन अन्तर्गत म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको छ । यस्तै भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको रु एक लाखभन्दा बढी मूल्य बराबरको सामानसहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको अवैध सामानसहित आज बिहान सिरहाको गोलबजार नगरपालिका–७ निवासी ललितादेवी महतो र सिरहाकै कल्याणपुर नगरपालिका–९ निवासी शम्भु यादव पक्राउ परेका हुन् ।

पक्राउ परेकाको साथबाट गुन्द्री १६ पिस, राजनिवास चार बोरा, दाल ५० किलो, चकलेट पाँच कार्टुन, रेगुलेटर, खाने तेल तीन टिन, रसवरी तीन कार्टुन, स्याम्फो चार कार्टुन, लदरी पानमा लगाउने छ कार्टुन, पापड एक कार्टुन लत्ता कपडा र कस्मेट्रिकलगायतका करीब रु एक लाखभन्दा बढी मूल्य बराबरको सामान बरामद भएको प्रहरी नायब उपरीक्षक रिमालले जनाएका छन् ।