कराकस, असार ३ । भेनेजुएलाको राजधानी कराकस नजिकैको एक माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्थानीय क्लबमा आयोजना गरेको खानपिन र सांस्कृतिक कार्यक्रमा अकस्मात एक युवकले अश्रुग्यास हानेपछि भएको भागदौडमा १७ जनाको ज्यान गएको छ । उक्त घटना शनिबार भएको र आफ्नो परीक्षा सकिएको अवसरमा ती विद्यार्थीले सो क्लबमा खानपिनको आयोजना समेत गरेका थिए ।
सोही कार्यक्रममा सहभागी एक युवकले अश्रुग्यास खोलिदिएको पाइएको छ । जसका कारण सहभागीहरुमा ठूलो भागदौड मच्चिएको र भागदौडका कारण ती युवायुवतीको ज्यान समेत गएको प्राप्त जानकारीमा बताइएको छ । त्यहाँ करिब ५०० विद्यार्थी सहभागी रहेको, उनीहरु भाग्ने क्रममा कुल्चिएर धेरैको ज्यान गएको छ ।
मृत्यु हुनेमा अधिकांश विद्यार्थी नै परेका छन् । कतिपय तिनका आमाबुबा पनि रहेका स्थानीय प्रहरीले जानकारी दिएको छ । भेनेजुएलाका आन्तरिक मामिला तथा कानुनमन्त्री नेस्टोर रेभेरोलले सो जानकारी दिनुभएको छ । उनले मृत्यु हुनेको सङ्ख्या १७ पुुगेको र दर्जनौँ अरु विद्यार्थी घाइते भइ उपचारार्थ अस्पताल भर्ना भएका जानकारी गराएका छन् । सो कार्यक्रमको मध्यान्तरतिर एकजना सहभागी युवकले अकस्मात कार्यक्रममा सहभागीलाई लक्ष्य गरेर अश्रुग्यास हानेको जानकारी गराइएको छ ।
अश्रुग्यास फालेको आशङ्कामा एकजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर उनले आफूले सो कार्य नगरेको बताएका छन् । उक्त दुर्घटनामा बालबालिकाले सास फेर्न नसकेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका थिए ।