काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुमार लुइटेलले ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलको नाम बिचौलिया प्रकरणसँग जोडिएर सार्वजनिक भएका समाचारप्रति गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिन र स्पष्ट जवाफको माग गर्नुभएको छ ।
२०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा पोखरेलसँग पाँच मतको झिनो अन्तरले पराजित लुइटेलले जनताले ठूलो आशा, विश्वास र अपेक्षासहित संसद्मा पठाएको प्रतिनिधिको नाम विवादित प्रकरणमा जोडिनु व्यक्ति विशेषको मात्र नभई सिंगो जिल्लाको प्रतिष्ठासँग सम्बन्धित विषय भएको बताउनुभएको छ ।
लुइटेलले आरोप लाग्दैमा कोही दोषी नहुने भए पनि सार्वजनिक पदमा पुगेपछि जवाफदेहिताबाट उन्मुक्ति पाउन नसकिने स्पष्ट पार्नुभएको छ । सार्वजनिक पद धारण गर्ने व्यक्तिको आचरण र सार्वजनिक छविले उसलाई निर्वाचित गर्ने जनताको विश्वाससमेत प्रभावित पार्ने उहाँको भनाइ छ ।
‘ओखलढुंगेली जनताले ठूलो आशा, विश्वास र अपेक्षासहित आफ्नो प्रतिनिधि निर्वाचित गरेर संसद्मा पठाएका छन् । त्यो विश्वास कुनै व्यक्ति विशेषको मात्र होइन, सिंगो जिल्लाको प्रतिष्ठासँग जोडिएको विषय हो,’ लुइटेलले भन्नुभएको छ ।
उहाँले पछिल्लो समय सार्वजनिक भएका बिचौलिया प्रकरणसम्बन्धी समाचारमा ओखलढुंगाबाट निर्वाचित सांसद पोखरेललगायतको नाम जोडिएर आउनु गम्भीर चासोको विषय भएको उल्लेख गर्दै सम्बन्धित पक्षले यसबारे स्पष्ट जवाफ दिनुपर्ने बताउनुभएको छ ।
‘हाम्रो चासो व्यक्ति विशेषप्रति होइन, ओखलढुंगेली जनताको विश्वास, जिल्लाको सम्मान र सार्वजनिक जीवनको नैतिकताप्रति हो,’ उहाँले भन्नुभएको छ ।
लुइटेलले ओखलढुंगाको पहिचान कुनै विवाद र काण्डसँग नभई इमानदारी, सुशासन, विकास र राजनीतिक संस्कारसँग जोडिनुपर्ने धारणा राख्नुभएको छ । जिल्लाको प्रतिष्ठा र जनताको स्वाभिमानका सवालमा आफ्नो आवाज निरन्तर उठिरहने उहाँले बताउनुभएको छ ।






















