काठमाडौँ, कार्तिक १५गते। नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले पत्रकार पक्राउ गरिएको घटनाको छानबिनका लागि सरकारी समिति स्वीकार्य नहुने बताउनुभएको छ। उहाँले घटनामा सरकारकै संलग्नता देखिएकाले निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै खतिवडाले पत्रकारमाथिको राज्य आतङ्क लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको प्रेस स्वतन्त्रताविपरीत भएको उल्लेख गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “पत्रकारमाथिको राज्य आतङ्क लोकतन्त्रको मेरुदण्ड प्रेस स्वतन्त्रता विपरीत छ। सरकारकै संलग्नता देखिएकाले सरकारी छानबिन समिति मान्दैनौँ, संसदीय छानबिन समिति गठन हुनुपर्छ।”
गत कार्तिक १३ गते सञ्चारगृहभित्रै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति विभिन्न राजनीतिक दल तथा पत्रकार सम्बद्ध सङ्घसंस्थाले विरोध जनाउँदै आएका छन्। खतिवडाको अभिव्यक्तिले उक्त घटनाको छानबिन सरकारी संयन्त्रबाट नभई संसद्बाट हुनुपर्ने मागलाई जोड दिएको छ।