कांग्रेस उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारीको उम्मेदवारी घोषणा

 

काठमाडौँ, असोज १९नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

डा. भण्डारीले सोमबार सामाजिक सञ्जालमार्फत उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै समयअनुकूल विचार बोकेर अघि बढ्ने पार्टी निर्माणलाई आफ्नो प्रमुख लक्ष्यका रूपमा अघि सार्नुभएको छ।

‘साध्य–समृद्ध मुलुक, खुसी नेपाली । साधन–समयअनुकूल विचार बोकेर हिँड्ने पार्टी निर्माण,’ उहाँले आफ्नो उम्मेदवारीको उद्देश्यबारे उल्लेख गर्नुभएको छ।

उहाँले नेपाली कांग्रेसले इतिहास निर्माण गरिसकेको भन्दै अब भविष्य निर्माण गर्ने जिम्मेवारी वर्तमान पुस्ताको रहेको बताउनुभएको छ।

‘हामीले इतिहास बनाएका छौँ, अब भविष्य बनाउने जिम्मेवारी हाम्रो हो,’ उहाँले भन्नुभएको छ।

डा. भण्डारीले समृद्ध नेपाल, सुखी नेपाली र रूपान्तरित कांग्रेस निर्माणका लागि आफ्नो उम्मेदवारीलाई विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गर्नुभएको छ।