विद्यार्थी राजनीतिदेखि प्रेस नेतृत्वसम्म, अब कांग्रेसको केन्द्रीय सदस्यमा लम्साल
काठमाडौँ — नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनमा प्रवेश गर्नुभएका लम्सालले पत्रकारिता र पेशागत संगठनको नेतृत्वबाट प्राप्त अनुभवलाई अब नेपाली कांग्रेसको संगठन निर्माण, नीति निर्माण तथा लोकतान्त्रिक मूल्यको प्रवर्द्धनमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी घोषणा गर्नुभएको हो।
लम्सालको राजनीतिक यात्रा २०५१ सालमा नेपाल विद्यार्थी संघ बारा क्षेत्र नम्बर १ को अध्यक्षको जिम्मेवारीबाट सुरु भएको हो। त्यसपछि उहाँ बारा, स्याङ्जा र मकवानपुरका विभिन्न क्याम्पसमा विद्यार्थी संगठन निर्माण तथा गतिविधिमा सक्रिय रहनुभएको थियो।
विद्यार्थी राजनीतिपछि पत्रकारितालाई पेशा बनाउनुभएका लम्सालले लामो समय सञ्चार क्षेत्रमा बिताउनुभएको छ। पत्रकारितासँगै नेपाल प्रेस युनियनमा सक्रिय रहँदै उहाँ काठमाडौं शाखा सभापति, केन्द्रीय सचिव र महासचिवलगायत जिम्मेवारीमा पुग्नुभयो। २०७९ सालमा युनियनको अध्यक्ष निर्वाचित हुनुभएका लम्साल हाल पनि अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बारा क्षेत्र नम्बर १ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा उहाँ सर्वसम्मत चयन हुनुभएको थियो। त्यससँगै उहाँले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी अघि बढाउनुभएको हो।
लम्सालले सक्षम संगठन, सशक्त कांग्रेस र जिम्मेवार नेतृत्व निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाउनुभएको छ। विभिन्न तहमा संगठन सञ्चालनको अनुभवलाई पार्टीको मूल संगठनमा जोड्दै कार्यकर्ता परिचालन, संगठन विस्तार तथा पेशागत क्षेत्रसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने उहाँको धारणा छ।
पेशागत क्षेत्रका व्यक्तिहरूलाई कांग्रेसमा थप अपनत्वको अनुभूति गराउने उद्देश्य पनि आफ्नो उम्मेदवारीसँग जोडिएको लम्सालले बताउनुभएको छ। चिकित्सक, इन्जिनियर, प्राध्यापक, पत्रकारलगायत विभिन्न पेशामा आबद्ध व्यक्तिहरूलाई पार्टीको राजनीतिक प्रक्रियामा जोड्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ।
लम्सालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्यको संरक्षणलाई समेत आफ्नो राजनीतिक प्राथमिकतासँग जोड्नुभएको छ। पत्रकारिताको लामो अनुभव र प्रेस युनियनको नेतृत्वबाट प्राप्त ज्ञानलाई पार्टीको नीति निर्माण र निर्णय प्रक्रियासँग जोड्ने उहाँको उद्देश्य छ।
प्रेस युनियनको नेतृत्वका क्रममा देशभरका पत्रकार तथा संगठनका विभिन्न तहसँगको समन्वय र संगठन सञ्चालनको अनुभव हासिल गरेको उल्लेख गर्दै लम्सालले त्यसलाई कांग्रेसको संगठन विस्तार र सुदृढीकरणमा उपयोग गर्ने बताउनुभएको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पेशा र क्षेत्रबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेका बेला लम्सालको उम्मेदवारीले पेशागत क्षेत्रको प्रतिनिधित्वलाई समेत केन्द्रमा ल्याएको छ। विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीतिक यात्रा, पत्रकारिताको लामो अनुभव र प्रेस युनियनको नेतृत्व हुँदै उहाँ अब कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय भूमिका खोज्दै हुनुहुन्छ।






















