काठमाडौँ, साउन २९ । १६ वटा उद्योगको सामान उत्पादन तथा बिक्री वितरण गर्न नेपाल गुणस्तर तथा नापतौल विभागले बन्द गरेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले उक्त उद्योगको उत्पादन तथा बिक्री वितरण गर्न बन्द गरेको हो ।
विभागले आव २०७३/७४ मा ६ उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा गर्नका लागि पटकपटक अनुरोध गर्दा नमानेपछि ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरिएको बताए ।
बिक्री वितरण बन्द गरिएका उद्योगमा खाद्यान्न, तेल, पाइप, छडजस्ता समान धेरै रहेका छन् । मापदण्डविपरीत उद्योग सञ्चालन गर्ने ६२ उद्योगहरुलाई विभागले स्पष्टीकरणसमेत मागेको छ ।
आव २०७३/७४ मा ७३ उद्योगलाई विभागले स्पष्टीकरण मागेको थियो । विभागले नेपाल गुणस्तर चिन्ह दुरुपयोग गर्ने एक उद्योगको मुद्दा प्रक्रिया अगाडि बढाएको थियो ।
आव २०७४/७५ मा इजाजतपत्र प्रमाणिकरणका लागि ७० उद्योगले आवेदन दिएका थिए । जसमा ४६ ग्यास उद्योग, सात विदेशी र १७ नेपाली उद्योगले आवेदन दिए ।