काठमाडौं, साउन २९ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान पुर्याएको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बताएका छन् ।
नेपालले भारतको समृद्धिबाट सिकेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । सभामुख महराले दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउनका लागि लाग्नुपर्नेमा पनि जोड दिएका छन् ।
मित्र राष्ट्र भारतको ७२औं स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले नेपाल र भारतीय जनताबीचको सम्बन्धलाई अझै बलियो र आत्मीय बनाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तित सन्दर्भ अनुसार नेपाल–भारतबीचको सम्बन्धलाई अझ नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए । उनले नेपालको नदीनाला दुवै मुलुकको हितमा उपयोग गर्न सकिने विचार व्यक्त गरे ।
नेता सिटौलाले दुवै देशको हित हुने गरी सम्बन्धलाई अझै गाढा र बलियो पार्न सरकारलाई सुझाव दिए । नेता सिटौलाले भारतको स्वतन्त्रता आन्दोलनमा जननायक विपी कोइरालालगायतका नेताहरुले दिएको योगदानको पनि स्मरण गराए ।
उनले नेपाली जनताले भारतबाट सहयोगको धेरै अपेक्षा गरेको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि दुवै मुलुक सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।