काठमाडौँ, साउन ३१ । श्रम क्षेत्रको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याउनका लागि मुलुकका तीन ठूला ट्रेड युनियनले सरकार र रोजगारदातासँग माग गरेका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी उक्त ऐन कार्यान्वयन गर्ने सन्दर्भमा आउने जस्तोसुकै दायित्व पनि निभाउनका लागि आफूहरू प्रतिबद्ध रहेको जनाएका छन् ।
सो ऐन र श्रम ऐन कार्यान्वयनमा ल्याउनका लागि स्थानीय तहमा श्रमिकको प्रमाणीकरण गरी पञ्जिकरण गर्न, श्रमिकको पारिश्रमिक तथा सुरक्षाको अनुगमन गर्न, श्रम प्रशासनलाई नियमित गराउन र सामाजिक संवादको अभ्यास गर्न पनि उनीहरूको जोड छ ।
पत्रकार सम्मेलनमा ट्रेड युनियनका अगुवा पुष्कर आचार्य, गणेश रेग्मी र कमल गौतमले श्रमिकलाई बाँच्न पुग्ने पारिश्रमिकको व्यवस्था गर्न तथा युनियनसँग हातेमालो गरी श्रम सचेतनाका क्रियाकलाप आयोजना गर्न समेत सरकारसँग अनुरोध गरेका छन् ।