रत्ननगर, साउन ३१ । गए राति सम्पन्न वार्तामा रत्ननगर नगरपालिका र आन्दोलनरत सात दलबीच कर समायोजन गर्ने सहमति जुटेको छ ।
नगर उपप्रमुख विमला दवाडीको नेतृत्वमा विज्ञसहितको समिति गठन गरी बढेको कर समायोजन गर्ने सहमति जुटेको वार्ता टोलीका सदस्य लालबहादुर भट्टले बताए । कर समायोजन भएपछि अहिले बढी तिरेको करसमेत समायोजन हुने उनको भनाइ छ ।
गए राति वार्तामा विभिन्न ११ बुँदे सहमति भएसँगै यहाँका सात राजनीतिक दलले गर्दै आएको आन्दोलन र रिले अनशनका सबै कार्यक्रम फिर्ता गरिएको छ । आर्थिक वर्ष ०७४/७५ को करलाई आधार मानेर करको दर समायोजन हुनेछ ।
अहिले बढेको कर सोहीअनुरुप नै लिने र पछि समितिले जुन दर कायम गर्छ त्यही बमोजिम कार्यान्वयन गर्ने र सेवाग्राहीबाट धेरै कर लिइएको देखिएमा पनि समायोजन या फिर्ता गर्ने सहमति भएको वडा नं ७ का वडाध्यक्षसमेत रहेका वार्ता टोली सदस्य भट्टले जनाए ।
सहमतिपत्रमा नगरपालिकामा विलासिताका सामान नकिन्ने, पुराना सामानलाई लिलामी प्रक्रियामा लैजाने, नगरवासीमा भेदभाव नगर्ने, कानूनी प्रक्रिया पुर्याएर मात्रै कर्मचारी राख्ने, रू ३० लाखसम्मका योजना उपभोक्ताबाट गराइने र अरु ठूला योजना टेन्डरमार्फत् गर्ने, नगरस्तरीय दललाई उपेक्षा नगर्नेजस्ता विषयमा सहमति जुटेको हो ।
अस्वाभाविक रूपमा कर वृद्धि गरिएको भन्दै नेपाली काँग्रेसलगायत विभिन्न सात राजनीतिक दल चार दिनदेखि आन्दोलन थिए ।