नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले अहिलेको सरकारप्रति नागरिकमा अत्यधिक वितृष्णा फैलिएको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रिय प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित अर्थ राजनीति समीक्षा कार्यक्रममा बोल्दै डा महतले वर्तमान अवस्थामा कम्युनिष्ठ सरकारले संस्थागत भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् । चीनबाट वा भारतबाट रेल ल्याउने सरकारको योजना तत्काल सम्भव नहुने उनले जानकारी गराएका छन् ।
सरकारले लगाएका समृद्धि लगायतका नाराहरु जनतालाई आस्वासन मात्र दिने र जनताका आँखामा छारो हाल्ने काम मात्र हो भन्दै उनले भने– संघीयतालाई असफलता बनाउने बाटोतर्फ अहिलेको सरकार लागि परेको छ ।
अहिलेको सरकारले बाध्यताले मात्रै लोकतान्त्रिक कुरा गरेको तर व्यवहारमा त्यसको उल्टो देखिएको उनले प्रस्ट्याए । अहिलेको सरकार जनताका हितमा भन्दा आफ्नै पार्टीका हितमा काम गर्न व्यस्त भएको डा महतले बताएका छन् ।
अहिलेको सरकार व्यवसायिकता, कानुन र काम कारबाही भन्दा पनि पार्टीकरणमा नै केन्द्रित रहेकोसमेत उनले आरोप लगाएका छन् ।
डा महतले राजनैतिक तहमा नियन्त्रण तथा अधिनायकवादी बाटो सरकारले रोजेका कारण यस सरकारले निरङ्कुशता र भ्रष्टाचारका विरुद्धमा उल्लेखनीय काम गर्न नसक्ने प्रस्ट पारे ।
प्रधानमन्त्री ओलीले अहिलेसम्मको इतिहासमा आफुले कार्यान्वयन गर्न नसक्ने कुराहरुलाई मात्र बढवा दिएकाले पनि यस सरकारले अहिलेको अवस्थामा अझ अलोकप्रिय बाटो रोजेको उनले बताए ।