काठमाडौंको फोहरले नागरिक विभिन्न रोगको शिकार बन्दै

काठमाडौँ, भदौ ३ । काठमाडौँ उपत्यकामा आयात गरिने तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य वस्तुका कारण यहाँको वातावरण निकै प्रदूषित बन्दै गइरहेको छ ।

वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्योति ल फर्मद्वारा आज आयोजित वातावरण अनुगमनको कानूनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालीममा मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले पछिल्लो समय काठमाडौंको वातावरण निकै प्रदूषित बनेको बताए ।

काठमाडौँको वातावरणका कारण अहिले नागरिक विभिन्न रोगको शिकार बन्दै गएका भन्दै डा ढकालले यस विषयमा सबैले चासो दिनुपर्नेमा जोड दिएका छन् ।

ढकालले भने– काठमाडौँमा खेती गर्ने जग्गा छैन, तरकारी, मासुलगायत सम्पूर्ण खाद्य सामग्री बाहिरबाट आयात गर्नुपर्छ तीमध्ये सबैभन्दा बढी मासुजन्य बस्तु र तरकारीबाट बढी फोहर भित्रिने गरेको छ । ती सामग्रीबाट निस्कने फोहरलाई उपत्यका बाहिर नै व्यवस्थापन गरी खान योग्यलाई मात्र काठमाडौँ ल्याउनुपर्छ, अन्यथा कुनै एक स्थानमा मात्र सबै ठाउँको फोहर व्यवस्थापन गरेर शहर सफा हुन सक्दैन ।

वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले अझै पनि विभाग नीतिगत रूपमा स्पष्ट नभएको भन्दै काम गर्ने वातावरणका लागि पहिले नीति बनाउनुपर्ने विचार व्यक्त गरे । उपत्यकाको फोहर व्यवस्थापन चुनौतीको रूपमा खडा भएको र त्यसको लागि खाद्य सामग्रीसँगै आउने फोहर बस्तु बाहिरी जिल्लामा नै व्यवस्थापन गरेर मात्र ल्याउनुपर्छ, नत्र समस्या थपिदै जान्छ– उनले भने ।

उपत्यकाबाट दैनिक बाह्र सय र काठमाडौँ महानगरपालिकाबाट दैनिक पाँच सय मेट्रिकटन फोहर निस्कन्छ । तीमध्ये ६० प्रतिशत कुहिने फोहर रहेको छ । आगामी शुक्रबारसम्म विभागका करीब २५ कर्मचारीलाई तालीम प्रदान गरिनेछ ।