ठेक्काको काम दशै अगाडि सम्पन्न गर्न महानगरको निर्देशन

ललितपुर भाद्र, ४ । ललितपुरको सातदोवाटोदेखि ढोलाहिटीसम्मको करिव १ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ५ वर्ष अघि ठेक्का पाएको युनाइटेड विल्डर्सले समयमै काम सम्पन्न गर्न नसक्दा सर्वसाधारणहरुले सास्ती खेप्दै आएका छन् ।

डिभिजन सडक कार्यालय ललितपुरसँग २०७० साल असारमा १५ महिनाभित्र काम सक्ने गरी ठेक्का लिएको युनाइटेड विल्डर्सले ५ वर्षसम्म ठेक्का पूरा गर्न नसक्दा यहाँका बासिन्दाले खेप्नु सास्ती खेपेका छन् । महिना दिनमा पूरा हुने काम ५–६ वर्षसम्म पूरा हुन नसक्दा सातदोवाटो–ढोलाहिटीबासीले हिलो, धुलो र धूवाँको सामना गरिरहेका छन् भने यो सडक भएर दैनिक यात्रा गर्नेहरुले पनि कष्टपूर्ण यात्रा गरिरहेका छन् ।

यहाँको सडकको धुलो र दुरावस्थाले आम नागरिकको स्वास्थ्यमासमेत नकरात्मक असर पारेको छ । गत चैत्र महिनामा यहाँका स्थानीयहरुले सडक निर्माणका लागि दवाव दिन यो सडक बन्द समेत गरेका थिए । त्यसवेला बैशाख १५ गतेसम्म काम सक्ने प्रतिवद्धता ठेकेदारले जनाएका थिए । तर अझैसम्म पनि काम सम्पन्न भने हुन सकेको छैन ।

ठेक्का पाएर ५ वर्षसम्म ठेक्का पूरा नगर्ने अटेरी ठेकेदार कम्पनी युनाइटेड विल्डर्सलाइ दशै अगाडि काम सम्पन्न गर्नका लागि ललितपुर महानगरले निर्देशन दिएको छ ।

यही २०७५ साउन ३१ गते ललितपुर महानगरपालिकाका मेयर चिरीवावु महर्जनको कार्यकक्षमा ललितपुरका प्रमुख जिल्ला अधिकारी, डिभिजन सडक कार्यालय ललितपुर, अटेरी ठेकेदार कम्पनी युनाइटेड विल्डर्सका प्रतिनिधि समेतको उपस्थितिमा भएको छलफलमा सो ठेकेदार कम्पनीलाई दशै अगाडि काम सक्ने गरी ३ दिनभित्र कार्यतालिका पेश गर्न निर्देशन दिएपछि ठेकेदार कम्पनीले भने भाद्रको पहिलो हप्ताभित्र कार्यतालिका पेश गर्ने प्रतिवद्धता जनाएको ललितपुर महानगरपालिका स्रोतले जनाएको छ ।

दशै अगाडि ठेकेदार कम्पनीले काम नसके ललितपुर महानगरपालिका आफैले यस विषयमा हात हाल्ने र काम सम्पन्न गर्ने प्रतिवद्धता महानगरपालिकाका मेयर चिरीवावु महर्जनले गरेका छन् ।

ललितपुर महानगरपालिकाद्वारा जारीे प्रेस विज्ञप्ति