काठमाडौँ, असार २३ । बजेटको व्यवस्थापन गर्न योजनाबद्ध विकास जरुरी रहेकामा जोड दिँदै मानव र प्रकृतिको व्यवस्थापनलाई पनि बजेटमा प्राथमिता दिन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आग्रह गरेका छन् ।
व्यवस्थापिका–संसद् बैठकको विशेष समयमा उनले काठमाडौँको जनसंख्यालाई विकेन्द्रीकरण गरी उपत्यका बाहिरका शहरमा आकर्षित गराउन, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीका लागि नै काठमाडौँ आउने प्रवृत्तिलाई अन्त्य गर्न उपत्यका बाहिर पनि यस्ता सुविधा पु¥याउनुपर्ने उनले भने । नेता पौडेलले खेतीयोग्य हराभरा जमिनलाई मासेर घर बनाई बस्ती बसाल्ने प्रवृत्तिलाई अन्त्य गर्न यस्ता जमिनमा ठूलाठूला भवन बनाउन नहुने नीति लागू गर्नुपर्ने बताए । उनले जनताका आधारभूत आवश्यकता पूरा हुने विकासका कार्यक्रम ल्याउन, जनताको घर आँगनमै सरकारी सेवा सुविधा पुर्याउन र विकासका योजना तर्जुमा गर्दा नेतालाई नभई जनतालाई ध्यान दिनुपर्ने बताए ।
नेता पौडेलले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले ऐन तथा नियमको अभावमा काम गर्न नसकेको प्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै काम गर्ने वातावरण मिलाउनु पर्ने कुरामा जोड दिए । स्थानीय तहका निर्वाचनमा आर्थिक चलखेल भयो भन्ने सुनिएकाले यस्तो प्रवृत्तिले लोकतन्त्रलाई बलियो नबनाउने भन्दै उनले निर्वाचनलाई खर्चिलो र भड्किलो बनाउने प्रबृत्तिको अन्त्य गर्नुपर्ने जनाए । उनले भने– नीति बमोजिम जनताले मत दिने पद्धतिको विकास गरिनुपर्छ । बजेट र योजनासित सुशासनलाई जोड्न र भ्रष्टाचारमुक्त समाजको स्थापना गरिनुपर्नेमा जोड दिंदै उनले विधानको सर्वस्वीकार्यताका लागि आन्दोलनरत पार्टीको माग पूरा गर्न एमाले पनि लचिलो बन्नुपर्ने र संविधान संशोधनमा सहयोग गर्नुपर्ने विचार व्यक्त गरे । सांसद रामनारायण बिडारीले सम्मानित नेताको नाममा खोलिएको अस्पतालमा उपचार गर्न आएका बिरामीले आफ्नो मिर्गाैला निकालियो भन्दै हारगुहार गर्दै हिँडेका छन् यसमा न्यायिक छानबिन गर्न सरकारसित माग गरे । सांसद अनुराधा थापामगरले योग दिवस मनाउन परिपत्र गर्ने शिक्षा मन्त्रालयले योग विषयलाई किन आ–आफ्नो पाठ्यपुस्तकमा समावेश नगरेको भन्ने प्रश्न उठान गरे ।
सांसद रामहरि खतिवडाले पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुने शहरी र ग्रामीण सडकको स्तरोन्नतिका लागि सरकारले ध्यान नदिएको गुनासो व्यक्त गरे । सांसद रामेश्वर फुयाँलले राष्ट्रिय गौरवका योजना समयमा सम्पन्न गर्न बजेट अपुग भएको र मेलाम्ची खानेपानी आयोजना समयमा निर्माण सम्पन्न हुनुपर्ने बताए ।