बाढीले पुल बगाएपछि आउँजाउँ गर्ने नाका ठप्प, २ मिनेटको बाटो २ दिन

स्थानीय बजारमा दैनिक उपभोग्य बस्तुको अभवा
बद्री पन्त
जाजरकोट, भाद्र ५ । साउन २९ गते जाजरकोटको नलगाड नगरपालिका स्थित झुमरा खोलामा आएको बाढीले पुल बगाउँदा आउजाउ बन्द भएको छ । खोलाका विभिन्न स्थानमा रहेका दुई दर्जन पुल एकै पटक बगाउँदा नगरपालिका क्षेत्र नाका बन्दीमा परेको हो । २ मिनेटमा पुगिने स्थान पुग्न २ दिन हिडेर बाटो पार गर्नु पर्ने बाध्यता भएको छ ।
बाढीले नलगाड २ र ४ जोड्ने घुवारा तिमीलेचौर ट्रस व्रिज पुल, नलगाड ५ र २ जोड्ने छेप्का कालीमाटी ट्रस व्रिज पुल र ६ को फर्सा गराग्ली जोड्ने ट्रस व्रिज गरी ३ वटा पक्की पुल बगाएको छ ।

त्यसैगरी साङ्ट, हम्का सिस्नेरी, पिउली, भेरी खोला, सिर्के, सानावन, नहकुली, करुवा, जुँगेखोला लगाएत २ दर्जन काठे पुल तथा खोलाका लाप्का बगाउदा स्थानीयलाई आउजाउँ गर्न समस्या भएको बारेकोट गाउँपालिका ९ का वडा अध्यक्ष शसीराम गौतमले बताउनु भएको छ । स्थानीयले एक गाउँबाट अर्को गाउँसम्म जान पाएका छैनन् ।

बाढीले पुल बगाएपछि नलगाड १ को जुरेली, पाली, कल्पत, चिउँरी, चिसापानी, २ को छेप्का, तिमीलेचौर, माझँगाउँ, गडी, भुने, ३ को कैनाबजार, टट्टा, भदाले, चाउलेचौर, सानावन, करुवा, कट्के, बाँसकोटी, दरा, धाउने, ४ को घुवारा, पिपलचौर, बाँउसेखोला, दारफाँका, खाल्चौर, माझगाउँ, भाच्चीउरा, मानचौर, कोठीगाउँ, सिमा, औल, ५ को कालीमाटी, ऐराडी, सिर्के, मुली पोखरा, लविसा, ६ को थाप्ला, गराग्ली, पिउली, भारगाउँ, गर्छिना लगाएत स्थानमा जानेआउने सबै नाका बन्द भएका छन् ।

सदरमुकाम खलंगा आउनका लागि रुकुमको आठवीसकोट नगरपालिकाको लामो दुरी भएर यात्रा गर्नु पर्ने बाध्यता भएको छ । बारेकोट गाउँपालिका र दल्ली लगाएत स्थान तर्फको आवतजावत पनि पुर्णरुपमा बन्द भएको छ । पुल भत्किँदा नगरसँगको आवतजावत बन्द भएको छ । बाढी पहिरोले ठुलो विपत्ती निम्त्याउदा पनि सरकारले व्यवास्था गरेको नलगाड नगरपालिका ४ का स्थानीय भक्तबहादुर ओलीले गुनासो गर्नु भएको छ ।

झुमरा खोलामा बाढी आउने क्रम रोकिएको छैन । खोलामा तत्काल पुल बनाउने अवस्था पनि छैन । खोलामा भएका सबै पुल बगाउदा स्थानीयलाई समस्या भएको छ । हजार विद्यार्थी विद्यालय जान पाएका छैनन् भने स्थानीयलाई गनतव्यमा पुग्न २÷३ दिन हिडेर जानु पर्ने बाध्याता भएको छ । स्थानीय बजारमा दैनिक उपभोग्य बस्तुको अभाव भएको छ । त्यस्तै बाटो नहुदा बाढीपहिरो प्रभावित क्षेत्रमा दैनिक उपभोग्य बस्तु आपुर्ती बन्द भएपछि भोकमरी बड्ने देखिएको छ ।
बाडीले दुई दर्जन पुल बगाएको र खोलामा लगातार बाढी आइ रहेकाले तत्काल अस्थायी पुल समेत बनाउन समस्या नलगाड नगरपालिकाका ईन्जिनियर मोहन मल्लले बताउनु भएको छ । बाढीले नदी आसपासको क्षेमा कटान तिव्र पारीरहेको इन्जिनियर मल्लको भनाइ छ ।


नलगाड नगरपालिका २ र ५ छेप्का कालीमाटी जोड्ने झुमरा खोला स्थित ट्रस व्रिज पुल साउन २९ मा आएको बाढी बगाएपछि बारेकोट, जुम्ला, डोल्पा नलगाड लगाएत क्षेत्रको आउँजाउँ बन्द भएको छ । तस्वीर : बद्री पन्त जाजरकोट ।