१८औं एसियाली खेलकुदमा नेपालको ४ खेलमा चुनौती सकियो

काठमाडौं, भदौ ६ । जाकर्ता (इन्डोनेसिया) इन्डोनेसियाको राजधानी जाकर्तामा भइरहेको १८औं एसियाली खेलकुदको पाँचौ दिनको खेल जारी रहँदा नेपालको ४ खेलमा चुनौती सकिएको छ ।

बिहीबार उसु र टेनिसमा नेपालको चुनौती सकिएको हो । बुधबार टेनिसको महिला डबल्समा प्रतिस्पर्धा गरेका नेपालका मायांका राणा र महिका राणाले क्वार्टरफाइनलमा हार बेहोरेका हुन् । राणा दिदीबहिनीको जोडीलाई जापानका मोयुका उचिजिमा र इरिका हायासीले ६–० र ६–० को सिधा सेटमा हराएका हुन् ।

सो टेनिसमा सहभागी भएका ६ खेलाडी सबैले कमजोर प्रदर्शन गरे । उसुमा अन्तिम दिन छ्वानछुवानमा नेपालकी सुस्मिता तामाङले प्रतिस्पर्धा गरेकी थिइन् । ९ खेलाडी सहभागी यो स्पर्धामा सुस्मिता सातौं भइन् । यो प्रतिस्पर्धामा चीनले स्वर्ण, मकाउले रजत र भियतनामले कास्य जिते ।

योसँगै उसुमा पनि नेपालको चुनौती सकिएको छ । नेपालका १० खेलाडीले उसुमा भाग लिएका थिए । यसअघि मंगलबार बाइ पाएर क्वार्टरफाइनलमा पुगेकी लुमन्ती श्रेष्ठ थाइल्यान्डकी खेलाडीसँग हार्दा पदक जित्नबाट पछि परिन् । नेपालको अहिलेसम्म कुस्ती, उसु, लनटेनिस र सुटिङमा भने चुनौती सकिएको छ ।