करेन्ट लागेर एको मृत्यु, दुई घाइते

नुवाकोट, भदौ ७ । नुवाकोट जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिहान साढे ६ बजे विजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस भएकी लिखु–१ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीलाई उपचारका लागि विदुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

उक्त घटनामा अन्य दुई जना घाइते भएका छन् । जसमा लिखु–१ शान्ति बजारकै ५५ वर्षीय लालप्रसाद लामिछाने र आफन्तको घरमा आएकी बेलकोटगढी नपा–१२ मदानपुरकी १९ वर्षीया सदीक्षा पौडेल घाइते भएका र उनीहरूलाई विदुरस्थित नुवाकोट सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंँ ल्याइएको छ ।

गए राति बाढीले जमीन कटान गरेकाले खोला छेउमा गाडिएको ३३ केबी प्रसारण लाइनको पोल मानिस हिँड्ने बाटोतर्फ ढल्किएर लत्रिएको सोही वडाका वडाध्यक्ष नरहरि पाण्डेले बताए । सुरक्षित स्थानमा पोल नगाडिएको कारणले दुर्घटना भएको उनको भनाइ छ ।