काठमाडौँ, भदौ ८ । मुलुकमा दिनानुदिन बढ्दै गइरहेको यौनजन्य हिंसाका घटना एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति विवेकशील साझा पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
पार्टीका प्रवक्ता रमेश पौड्यालले आज जारी गरेको विज्ञप्तिमा मुलुकमा पछिल्लो समय वृद्धि हुँदै गइरहेको यस्ताखालका जघन्य अपराधमा संग्लनलाई कानूनको दायराभित्र ल्याई हदैसम्मको सजाय दिनका लागि सरकारसमक्ष जोडदार माग राखिएको छ ।
बिहीबार कञ्चनपुरमा भएको घटनाका दोषीलाई कारबाही गरी घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने विवेकशील साझा पार्टीको सरकारसँग माग रहेको छ ।
गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गर्नुलाई सकारात्मक रूपमा लिएको भन्दै प्रवक्ता पौड्यालले अन्य विभिन्न घटनामा बन्ने छानबिन समितिजस्तै यो समिति पनि कर्मकाण्डी मात्रै नहोस् भन्नेमा सरकारको ध्यानाकर्षण गराएको छ ।
कञ्चनपुरको भीमदत्त–२ मा १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन ११ गते बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको थियो ।