वर्तमान सरकार पूर्ण रुपमा असफल : नेता सिंह

वर्तमान सरकार पूर्ण रुपमा असफल भएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दाबी गरेका छन् । नेपाली जनतालाई पानीजहाज चलाउने सपना देखाउन सक्ने तर सडकका खाल्डाखुल्डीसमेत पुर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका छन् ।

नेपाल महिला संघ काठमाडौं जिल्ला समितिद्वारा आइतबार बिहान मंगलादेवी सिंहको २२औं स्मृति दिवसको अवसरमा काठमाडौंको शोभा भगवतीमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले सरकार सबै क्षेत्रमा असफल भएको बताए ।

दुई तिहाइ बल भएको सरकारले उल्लेख्य, क्रान्तिकारी र जनताको मन छुने खालको कार्यक्रम ल्याउन नसकेको भन्दै उनले सरकार कुनै क्षेत्रमा पनि सफल हुन नसकेको प्रस्ट पारे । दुई तिहाइको सरकार आएदेखि बढेको मूल्य हेर्दा पनि जनताले खेप्नु मार खेपिरहेका छन् । बलात्कार र हत्याका घटनाहरु नरोकिएको, शान्ति सुरक्षा दिन नसकेको, मूल्यवृद्धि रोक्न नसकेको र विकासका कुरामात्र गरेको तर काम नगरेकालाई उनले सरकारको असफलताको टिप्पणी गरे ।

कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सरकारले नै राजनीतिक रंग दिन खाजेको र अपराधीलाई उन्मुक्ति दिन खोजेको पनि नेता सिंहको आरोप छ । कञ्चनपुरमा बलात्कार गरेर हत्या गरेको घटनालाई ट्वीस्ट गरेर, राजनीतिक रंग दिन खोजेर, अपराधिलाई छुटाउने प्रयास सरकारले गरेको उनको भनाइ छ ।

विकास निर्माणका ठूलठूला नारा लगाउँदै जनतासमक्ष मीठा मीठा सपना बाँड्दै हिड्ने सरकारले सडकका साना खाल्डासमेत पुर्न नसेकेको उनले आलोचना गरे । विकास निर्माणको कुरामा पनि केबल नारामात्र अगाडि सार्ने काम भएको नेता सिंहको भनाइ छ ।

उनले भने पानीजहाजदेखि रेलको कुरा गर्ने तर सडकका खाल्डाखुल्टी नपुर्ने ? ल एण्ड अर्डरको कुरामा पनि टोटल्ली यो सरकार विफल भएको छ । जनतालाई शान्ति सुरक्षा दिने कुरामा पनि शतप्रतिशत विफल भएको छ । बिहानदेखि साँझसम्म जनतालाई पिरोलीरहने सानातिना समस्याको ट्याकल गर्न नसक्ने सरकारले ठूलठूला कुराहरु गरेर कहाँबाट सफल हुन सक्छ ? वर्तमान सरकारले जनताको भलाइमा होइन, अहितमा धेरै गतिविधि गरिरहेको नेता सिंहको आरोप छ ।

उनले भने–समृद्धिको अभियान अगाडि बढाउने ठाउँमा त्यसलाई अधोगतितिर डोर्याएको भनेर जनताले नै भनिरहेको कुराबाट यो सरकार के कस्तो भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ । नेता सिंहले अर्को फकर प्रसङ्ग निकाल्दै महासमितिको बैठक पूर्वघोषित मितिभन्दा तीन महिनापछि सार्ने निर्णय गलत भएको बताएका छन् । यसबाट पार्टी नेतृत्व असक्षम छ भन्ने थप पुष्टि भएको उनले बताए ।

कांग्रेसको केन्द्रीय समितिको शनिबारको बैठकले भदौमा हुने भनिएको महासमिति बैठक मंसिरमा गर्ने निर्णय गरेको थियो । यसअघि सभापति शेरबहादुर देउवाले नै भदौमा महासमिति बैठक गराउने घोषणा गरेका थिए । हिजोको निर्णयबाट विगतमा कांग्रेसको जुन छवि थियो, त्यो छविमा ह्रास आएको छ नेता सिंहले भने । यसबाट लिडरसीपमा पार्टीलाई सहमतिका साथ, समझदारीका साथ अगाडि बढाउन नसक्ने कमजोरी भएको स्पष्ट हुन्छ । उनले भने– डेट दिने र त्यसलाई सार्दै काम भयो ।

वर्तमान कांग्रेसको नेतृत्व सम्हालेका पार्टी सभापति लगायतका नेताहरुबाट कांग्रेसको विगतको इतिहासमा कहिल्यै नभएको कुराहरु भयो । यसलाई विशेष रुपमा नेतृत्वकै कमजोरीको रुपमा हामी लिन्छौं । कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले महासमिति बैठकको मिति सार्ने बहुमतको निर्णयलाई भने आफूहरुले स्वीकारेको उनको भनाइ छ । तर, यस्ता निर्णयको जनताले मूल्यांकन गरिरहेको उनले बताए ।

उनले भने, ’डेमोक्रेटिक पार्टी हो, बहुमतको डिसिजनलाई हामी मान्छौं । तर पब्लिकले पनि त जजमेन्ट गरिरहेको हुन्छ । आम जनताले के भनिरहेको छ भन्दा कांग्रेस, पहिलाको कांग्रेस रहेन अब ।’ उनले कांग्रेसलाई सुधार्न पार्टीभित्र ठूलै अभियान सुरु भइसकेको दाबीसमेत गरे । त्यसको प्रतिफल छिट्टै आउने पनि उनले बताए ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले पार्टीलाई विधिसम्मत चलाउनका लागि पार्टीभित्र ठूलै अभियान अगाडि बढिसकेको र आउँदा दिनमा सबैले त्यसको प्रतिफल देख्नुहुन्छ भने ।