गौर, भदौ १० । शनिबार साँझ रौतहटको लालबकैया नदीमा भएको डुङ्गा दुर्घटनामा परेका यात्रुमध्ये दुई महिलाको शव फेला परेको छ भने तीनजना अझै वेपत्ता छन् ।
इशानाथ नगरपालिका– ३ रुनाकुर्मी पटेल र गौर नगरपालिका– ४ की शान्तिदेवी साहको शव फेला परेको प्रहरी उपरीक्षक केदार ढकालले बताएका छन् । दुर्घटनामा परेकामध्ये २१ जनाको उद्धार गरिएको छ ।
डुङ्गा डुबेपछि ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पटेल र उष्मा पटेल बेपत्ता भएको प्रहरीले जानकारी गराएको छ । डुङ्गाका सहचालक ओमप्रकाश हुन् । इशानाथ नगरपालिकाको औरहियाबाट गौरतर्फ आउँदै गरेको डुङ्गा बकैया नदीमा पल्टेको थियो ।
पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर डुङ्गा दुर्घटना भएको थियो । बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, भारतीय सुरक्षाकर्मी तथा स्थानीयवासीले खोजी गरिरहेका छन् ।
0
Shares