काठमाडौँ, भदौ १० । फौजदारी एवं देवानी संहितामा रहेको प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधनको प्रक्रिया अगाडि बढाउनका लागि प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले माग गरेका छन् ।
नेता देउवाले आजको बैठकमा विशेष समय लिएर प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ हुन नसक्ने भएकाले कानून संशोधनको तयारी थाल्न माग गरेका छन् ।
बालिकामाथि हुने गरेको बलात्कारको शृङ्खलामा सरकारले दोषी पत्ता नलगाउँदा असन्तुष्टि बढेको र प्रधानमन्त्रीले कस्तो लोकतन्त्रको अभ्यास गर्दै हुनुहुन्छ, यस्ता घटनाका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याइनुपर्छ उनले भने ।
सरकारले संविधानको धारा २५० बमोजिम प्राकृतिक स्रोत तथा वित्तीय आयोग गठन नगर्दा करका विषयमा समस्या आएकाले शीघ्र गठन गर्न नेता देउवाले सरकारको ध्यानाकर्षणसमेत गराए ।
उनले उखु किसानले मूल्य नपाएको र किसानले समयमा मल नपाएकाले उचित व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएका छन् ।