निर्मलाका परिवारलाई तीन लाख सहयोग दिने भीमदत्त नगरपालिकाको घोषणा

कञ्चनपुर, भदौ ११ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका परिवारलाई भीमदत्त नगरपालिकाले रु तीन लाख सहयोग गर्ने घोषणा गरेको छ ।

पन्तका परिवारलाई भेटेर भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले सहयोगको घोषणा गरेका हुन् । यसअघि भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकमा पन्त परिवारलाई आवश्यक सहयोग गर्ने निर्णय भएको थियो ।

नगर प्रमुख विष्टले निर्मलाका परिवारलाई नगरपालिका कार्यालयबाट रु तीन लाख सहयोग दिइने बताए । निर्मलाको हत्यामा संलग्नलाई छिटो कानूनी दायराभित्र ल्याई कारवाही गरिनुपर्ने नगर प्रमुख विष्टको भनाइ छ ।

उनले निर्मला हत्याको अनुसन्धानमा भीमदत्त नगरपालिकाबाट हुने सबै सहयोग गरिने प्रतिबद्धता जनाएका छन् ।

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा गोली लागेर ज्यान गुमाएका शनि खुनाका परिवारलाई पनि शनिबार तीन लाख रुपैया आर्थिक सहयोग गर्ने घोषणा भएको छ ।