राष्ट्रियसभा समितिमा सभापतिको मनोनयन आज हुँदै

काठमाडौं, भदौ १२ । राष्ट्रियसभाका समितिका सभापति पदका लागि आज मनोनयन दर्ता हुने भएको छ । राष्ट्रियसभाका समितिका ४ विषयगत समितिमा मनोनयन हुने भएको छ ।

दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिका लागि सभापतिको मनोनयन हुन लागेको हो ।

बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन समय तोकिएको । राष्ट्रियसभा सचिवालयले आजै ४ः३० बजे उम्मेदवारको सूची प्रकाशन गर्ने भएको छ भने सभापतिका लागि बुधबार निर्वाचन हुने भएको छ ।

सभापतिका दाबेदारका लागि चार विषयगत समितिमध्ये दिगो विकास तथा सुशासन समितिमा १४ सदस्य छन् । राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल, कालीबहादुर मल्ल र दिनानाथ शर्मा सो समितिमा सदस्य छन् । सो समितिको सभापतिमा भैरवसुन्दर श्रेष्ठ सरकारको रोजाइमा रहेका छन् भने उनीसँगै इन्दु कडरिया पनि सभापतिको लागि प्रयास गरिरहेकी छिन् ।

त्यसैगरी विधायन व्यवस्थापन समितिको सभापतिका लागि पर्शुराम मेघी गुरुङ छन् भने नन्दा चपाईलाई बन्नुपर्ने कुरा नेकपाभित्र चलिनै रहेको छ । सो समितिमा नेपाली कांग्रेसका जितेन्द्र नारायण देव, बद्री पाण्डे र राजपाका वृशेषचन्द्र लालसहित १४ सदस्य छन् । भने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको पहिलो रोजाइमा रामनारायण बिडारी परेका छन् । पूर्व माओवादीका नेता बिडारीको पक्षमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल रहेकाले बिडारी नै सभापतिको पहिलो रोजाइमा देखिन्छन् । राधेश्याम अधिकारीसमेत सदस्य रहेको सो समितिमा १३ सदस्य रहेका छन् ।

त्यसैगरी अर्को विषयगत समिति हो राष्ट्रिय सरोकार तथा समन्वयन समिति । यस समितिमा १४ जना सदस्य रहेका छन् । यस समितिको पहिलो रोजाइमा भने दिलकुमारी रावल थापा (पार्वती) परेकी छिन् । उक्त समितिमा कोमल वलीले समेत सभापतिको प्रतिस्पर्धीको रुपमा आफुलाई दाबी गरेकी छिन् ।