केसीले ९० घण्टाको लामो वक्तव्य दिएर विश्व कीर्तिमान राखे

काठमाडौँ, भदौ १५ । नुवाकोट जिल्ला चिसापानीमा जन्मिएका हाल काठमाडौंको जोरपाटी बस्दै आएका अनन्तराम केसीले ९० घण्टा दुई मिनेटसम्म निरन्तर बोलेर विश्व कीर्तिमान कायम गरेका छन् ।

भदौ ११ गते बिहान ६ बजेदेखि शुरु गरेको र बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर किर्तिमान कायम गरेका हुन् । उनले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाईसमेत तोड्दै किर्तिमान राख्न सफल भएका छन् ।

अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको लागि तयारीमा जुटेका थिए ।

शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिमसमेत दिने गरेका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायमका लागि लागि परेका थिए ।

उनले यस पटकको वक्तव्य न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा दिएका थिए । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले निरन्तर ९० घण्टा दुई मिनेट बोलेर विश्व कीर्तिमान राखेका उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि सोप्नील डाङ्गारीकार, प्रदेश सांसद जीवन डङ्गोलले संयुक्त रूपमा प्रमाणपत्र वितरण गरे ।

नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसकेका केसी एक आध्यामिक साधक पनि हुन् । केसीले २१ दिन जल उपबास र ६ महिना मौन ध्यान साधना पूरा गरिसकेका थिए । उनले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान कायम गरे पनि त्यसलाई प्रमाणिकरण भने गरिएको थिएन ।