साझा प्रयास र सहकार्यबाट बिम्स्टेक क्षेत्रको समृद्धि सम्भव हुने : प्रम ओली

काठमाडौँ, भदौ १५ । सदस्य राष्ट्रको साझा प्रयास, सहयोग र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

राजधानीमा हिजोदेखि जारी बिम्स्टेकको चौथो शिखर सम्मेलनको समापन गर्दै उनले नेपालले सङ्गठनको अध्यक्षता गरेका बेला सदस्य राष्ट्रका राष्ट्राध्यक्ष/सरकार प्रमुखबाट निरन्तर प्राप्त सहयोगप्रति आभार व्यक्त गरे । प्रधानमन्त्रीले सम्मेलनबाट पारित १८ बुँदे घोषणापत्रको प्रभावकारी कार्यान्वयनमा सबैबाट सक्रिय सहयोग, साथ र समर्थन प्राप्त हुने विश्वास लिएका छन् ।

सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भुमिका निभाएका बिम्स्टेकका महासचिव, सदस्य देशका सम्बद्ध निकायका पदाधिकारी, नेपालका सुरक्षाकर्मी, सञ्चारकर्मी, विद्वत्वर्गलगायत सम्पूर्णमा उनले कृतज्ञता ज्ञापन गरे ।

नेपालले सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनका शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेर अन्तर्राष्ट्रिय समुदायमा कूटनीतिक क्षमता प्रदर्शन गरेको छ । सम्मेलनबाट पारित घोषणापत्र केही बेरपछि सार्वजनिक हुनेछ ।