चौथो बिम्स्टेक सम्मेलन सम्पन्न

काठमाडौं, भदौ १५ । बिहीबारबाट राजधानीमा आयोजित चौथो बिम्स्टेक सम्मेलनमा उर्जाका क्षेत्रमा सहकार्य गर्नेगरी सहमति गरिएको छ ।

सम्मेलनको समापनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो कुरा जनाएका हुन् । यस्तै सम्मेलनले जनस्तरमा सम्बन्धको विस्तारमा पनि जोड दिएको मन्त्री ज्ञवालीले बताए ।

सम्मेलनले विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको समुह बनाएर यस क्षेत्रको सहकार्यलाई बढावा दिन सहमति भएको उनको भनाइ छ । पर्यटन प्रवद्र्धन गर्न यस क्षेत्रका सबै सदस्य राष्ट्रहरु सहमत भएको जनाउँदै उनले भने– नेपालले २०२० मा बिम्स्टेक पर्यटन सम्मेलनको आयोजना गर्ने सहमति भएको छ ।

नेपालले २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदै छ । यस्तै, बिम्स्टेकको काठमाडौं सम्मेलनले बुद्ध सर्किटको अवधारणालाई मुर्तरुप दिने विषयमा पनि समझदारी गरेको मन्त्री ज्ञवालीले जनाए । नेपालले माउन्टेन इकोनोमीलाई बढावा दिन प्रस्ताव गरेको पनि मन्त्री ज्ञवालीले बताएका छन् ।

बिम्स्टेकको हालसम्मको यात्रा सन्तोषजनक नरहेको भन्दै सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले यसको प्रभावकारीताका विषयमा छलफल गरेको मन्त्री ज्ञवालीले जानकारी गराएका छन् ।

सार्क र बिम्स्टेक एकअर्काको परिपूरक हुने तर विकल्प नहुने उनको भनाइ छ । यस क्षेत्रको कनेक्टिभिटीका लागि मास्टर प्लान बनाउने विषयमा सहमति जुटेको भन्दै उनले त्यसका लागि संयन्त्र निर्माण गर्ने प्रक्रियामा जाने बताए ।

बिहीबारदेखि सुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न गरिएको छ ।