सभापतिको निर्वाचनका लागि पूर्वनिर्धारित कार्यक्रम स्थगित

काठमाडौँ, भदौ १५ । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० वटा समितिका सभापतिको निर्वाचनका लागि पूर्वनिर्धारित कार्यक्रम रोकिएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज जारी गरेको सूचनामा सभामुखको निर्देशनमा अर्काे सूचना प्रकाशित नभएसम्म समितिका सभापति छनोट गर्ने निर्वाचनका पूर्वनिर्धारित कार्यक्रम रोकिएको उल्लेख गरिएको छ ।

निर्वाचनको पूर्वनिर्धारित कार्यक्रम अनुसार भोलि बिहान ११ देखि दिउँसो ५ बजेसम्म प्रस्ताव दर्ता गर्ने, भदौ १७ गते बिहान ११ बजेदेखि प्रारम्भ हुने समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्न कार्यक्रम थियो ।

प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि समिति छन् ।