काठमाडौँ, भदौ १७ । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।
नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लु भएको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको सो घटनापछि विमानस्थल अवरुद्ध थियो ।
झण्डै १२ घण्टादेखि अवरुद्ध भएको विमानस्थल संचालनमा आएसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भएको विमानस्थलले बताएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार धस्सिएको विमानलाई लामो समयको प्रयासपछि अहिले यतिकै पार्किङस्थलमा लगिएको छ ।
सो दुर्घटनामा कुनै मानवीय क्षति भने हुन पाएन । घाँसे मैदानमा धस्सिएको विमानलाई प्राधिकरण, विमानस्थलको फायर फाइटिङका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतको संयुक्त टोलीले लगातारको प्रयासपछि धावनमार्गमा लगेको थियो ।