नेपाल चिकित्सक संघद्वारा देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द

काठमाडौँ, भदौ १७ । आज देशभरका स्वास्थ्य संस्थामा नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजी गर्नुपर्ने माग राख्दै आइतबार देशभरको आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने र आगामी बुधबारदेखि आकस्मिक बाहेक देशभरका स्वास्थ्य संस्थामा शल्यक्रिया सेवा पनि बन्द गर्ने घोषणा गरेको छ ।

चिकित्सकहरु मुलुकी अपराध संहिता संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । आजै डाक्टरहरुले नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने पनि कार्यक्रम रहेको संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले बताएका छन् ।

मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीललाई गएर आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय भएको उनले जनाएका छन् । सरकारले डाक्टरलाई अपराधी र ज्यानमाराजस्तो व्यवहार गर्न खोजेको भन्दै नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्की यो वातावरणमा काम गर्न नसकिने बताएका छन् ।

भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको गर्नुपर्ने चिकित्सकहरुको माग छ ।

चिकित्सकहरुले सरकारको गलत कदमको विरोध गर्दै भाद्र १८ गते सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गर्ने कार्यक्रम तय गरेको छ । त्यसैगरी भाद्र १९ गते मंगलबारदेखि आकस्मिक बाहेकका बिरामी भर्ना गर्ने कार्य बन्द गरिने बताइएको छ ।

भाद्र २० गते बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने र भाद्र २१ गते बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द कार्यक्रम रहेको छ भने भाद्र २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुको निर्णय छ ।