काठमाडौँ, भदौ १८ । उपत्यकामा दिउँसो ट्रक तथा टिपर चलाउनका लागि रोक लगाइएपछि तीनबाट हुने दुर्घटनामा कमी आएको छ । सवारीसाधनको चाप अत्यधिक रुपमा बढ्दै गएको उपत्यकामा दिउँसो ट्रक तथा टिपर चलाउन रोक लगाइएपछि दुर्घटनामा कमी आउन थालेको हो ।
उपत्यकामा चालू आर्थिक वर्षको साउन र भदौमा ती सवारी साधनको दुर्घटनाबाट तीनजनाले ज्यान गुमाएका छन् । आव २०७४/०७५ मा एक हजार ५८० यस्ता सवारी साधनबाट भएको दुर्घटनामा ४५ जनाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जसमध्ये २०७४ को साउन र भदौमा मात्र ती सवारी साधनका कारण सात जनाले ज्यान गुमानुपरेको थियो ।
टिपरले पैदलयात्रु र साना सवारी चालकको मृत्युका घटनामा वृद्धि हुँदै गएकाले गृहमन्त्री रामबहादुर थापाले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका थिए ।
साउन १ गते काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकमा बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ट्रक तथा टिपर सञ्चालनमा रोक लगाउने निर्णय भएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त दिउँसोको समयमा त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाएकै कारण दुर्घटनाका घटना कम हुँदै जान थालेको बताउँछन् ।
रातको समयमा कम सवारीसाधन गुड्ने र सडकमा मानिसको भीडभाड कम हुने भएकाले दुर्घटनामा कमी आएको उनको भनाइ छ । साँघुरो सडक र बढी सवारीसाधन आवतजावत हुँदा उपत्यकामा धेरै दुर्घटना हुने गरेको उनले बताएका छन् ।
चालकको लापर्वाही र तीव्र गतिका कारण नै उपत्यकामा बढी ट्रक र टिपर दुर्घटना हुने गरेको भन्दै लामो समयदेखि मुलुकको सवारी साधन व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका जगतमान श्रेष्ठले भने– ट्रक टिपरका चालकले जति अगाडि देख्छन् त्यति दायाँबायाँ नदेख्दा बढी दुर्घटना हुने गरेको छ ।
पचास प्रतिशत सवारी चालकसँग भारी सवारीसाधन सञ्चालनको अनुमति पत्र (लाइसेन्स) नभएको र त्यसमध्ये पनि २५ प्रतिशत चालक अनुभवविहीन भएका कारण दुर्घटनाका घटना वृद्धि भएको जनाउँदै उनले टिपर र ट्रकका अधिकांश चालक सिकारुसमेत रहँदा दुर्घटना निम्तिने गरेको बताए ।
मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउनु तथा बढी रकम पाउने लोभमा दुई÷तीनपटक ओहोरदोहोर गर्नु र तीव्र गतिका कारण पनि बढी दुर्घटना हुने गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका मालबाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठ दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाउँदा व्यवसायमा मार परेको बताउँछन् ।
रातको समयमा निर्माण सामग्री नपाउँदा सामान ढुवानीमा समेत समस्या हुने गरेको उनको भनाइ छ । रातको समयमा निर्माण सामग्री सवारीसाधनमा राख्दा वा झार्दा सुतिरहेका मानिसलाई असर पर्ने गरेकाले दिउँसोको समयमा ट्रक र टिपर चलाएर नै दुर्घटना न्यूनीकरण गर्न लागि ट्रक र टिपरको बनावट परिवर्तन गर्न व्यवसायी लागिपरेको उनले बताए ।
आव २०७४/०७५ मा काठमाडौँ उपत्यकामा मात्र सवारी दुर्घटनाबाट १९४ जनाको ज्यान गएको थियो । हाल काठमाडौँ उपत्यकामा आठ लाखभन्दा बढी र देशभर ३० लाखभन्दा बढी सवारीसाधन सञ्चालन रहेको यातायात व्यवस्था विभागले बताएको छ ।