‘सरकार अब मुलुकको समृद्धि र विकासमा मात्र केन्द्रित हुने’

विराटनगर, भदौ १९ । देशको समृद्धि र विकास सरकारको प्रमुख एजेण्डा रहेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले बताएका छन् ।

सोमबार निर्माण व्यावसायी संघ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेण्डा सकिएकाले सरकार अब मुलुकको समृद्धि र विकासमा मात्र केन्द्रित हुने बताए ।

यही भदौपछि सरकारले सोचे अनुसारको काममा लाग्ने उनले प्रस्ट्याए । प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प ‘सुखी नेपाली, समृद्ध नेपाल’ पूरा गर्न पूर्वाधारको विकासमा जोड दिइएकाले अबको पाँच वर्षभित्रमा छ देखि आठ हजार किलोमिटर सडक निर्माण गर्ने मन्त्री महासेठले जनाएका छन् ।

अगामी संसदीय निर्वाचन अघि मेचीदेखि महाकालीसम्म हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्ने अठोटका साथ सरकारले काम गरिरहेको उनले बताए । मुस्ताङमा रहेको युरेनियम खानी प्रयोगमा ल्याउन सके ५० देखि ६० वर्षको बजेट त्यसैले धान्ने मन्त्री महासेठको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गरी चार लेनको बनाउन चाँडै बोलपत्र आह्वान गरिने मन्त्री महासेठले बताए । उनले निर्माण व्यवासायीलाई मुलुकी ऐनबाट नभइ निर्माण करार ऐनबाट कारबाही गरिने र निर्माणका क्रममा कमी कमजोरी रहेको पाइए व्यावसायीलाई मात्र नभएर त्यससँग सम्बन्धित कर्मचारीलाई पनि कारवाही गरिने जनाए ।

उक्त अवसरमा प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले निर्माण व्यवसायीले प्रतिस्पर्धाका कारण कम अङ्क हालेर ठेक्का लिने गरेका कारण निर्माण समयमै पूरा हुन नसकेको तथा गुणस्तरसमेत कायम हुन नसकेको बताए ।

प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले देश विकास र निर्माणमा निर्माण व्यावसायीको भूमिका उल्लेखनीय रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धि राजभण्डारीले निर्माणसँग सम्बन्धित कर्मचारीले अब लोभ, लालच हटाएर देश बनाउनका लागि लागिपर्न अनुरोध गरेका छन् ।