काठमाडौंँ, भदौ १९ । महिला भलिबल लिग यही असोजको दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल संघ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ काठमाडौँमा हुन लागेको हो ।
नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार सो प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुनेछ ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यू डायमण्ड क्लबको प्रतिस्पर्धा रहने बताइएको छ । प्रतियोगिताको समूह ‘ए’ मा चितवन, न्यू डायमण्ड र आर्मी तथा समूह ‘बी’मा पुलिस, एपीएफ र पोखरा छन् ।
लिगको विजेताले रु ६ लाख, उपविजेताले रु ३ लाख तथा तेस्रो हुनेले भलिबलमा अहिलेसम्मकै सवाधिक पुरस्कार राशि रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटरसहित रु ५० हजार पुरस्कार दिइने जनाइएको छ ।
सोमबार एक कार्यक्रमका बीच प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीअबाधी फाउण्डेशनका प्रमखु कार्यकारीे दिनेशकुमार सिंहले संयुक्त रूपमा उक्त ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगितामा सहभागी टोलीले तीन/तीन विदेशी खेलाडीसमेत राख्न पाउने महासचिव चन्दले बताए ।
प्रतियोगिता आयोजना गर्न संघ र आधीअबाधीबीच गत साउन १७ गते दश वर्षका लागि सम्झौता भएको थियो । सोही सम्झौता अनुसार आधीअबाधीले नेपाल भलिबल संघलाई प्रत्येक वर्ष रु १५ लाख प्रदान गर्ने भएको छ ।