काठमाडौँ, भदौ १९ । मलेसियामा भइरहेको एशिया कप छनोट क्रिकेट प्रतियोगिता अन्र्तगत नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसामु सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
उक्त खेलमा नेपालले हङकङसामु ९६ रनको लक्ष्य प्रस्तुत गरेको हो । मलेशियाको राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र जोड्न सफल भयो ।
अनिलकुमार साहले १५, अरिफ शेषले १८ र कप्तान पारस खड्काले १४ रन बनाउनुबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
हङकङका इहशान खानले चार तथा तनवीर अफजल र मोहमद खानले समान दुई/दुई विकेट लिए भने चार खेलमा दुई जित र दुई हारका साथ नेपाल अङ्क तालिकामा चौथो स्थानमा रहेको छ । हङकङ दुई जित र एक हारका साथ तेस्रो स्थानमा रहेको छ ।
नेपालले ओमन र संयुक्त अरब इमिरेट्स (युएइ)सँग हार बेहोरेको थियो भने आयोजक मलेशिया र सिङ्गापुरलाई पराजित गरेको थियो ।