साफ च्याम्पियनसिपमा आज नेपाल पाकिस्तानसँग भिड्दै

काठमाडौँ, भदौ १९ । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण खेल बङ्गलादेशको ढाकामा आजदेखि हुने भएको छ । आजभन्दा दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध नेपालले आज प्रतिस्पर्धा गर्दैछ ।

सो खेल दिउँसो ३ः४५ बजेबाट हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताए छ । दुवै टोली अहिलेसम्म साफमा उपाधिविहीन छन् । हालसम्मका नतिजाले पाकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

हालै इन्डोनेसियामा सम्पन्न १८ औँ एशियाली खेलमा नेपालाई पराजित गरेको पकिस्तान सोही नतिजा दोहोर्याउने मनसायमा छ भने नेपाल त्यसको बदला लिने सोचका साथ आज मैदान उत्रने भएको छ । आजबाट शुरु भएर यही भदौ ३० गतेसम्म हुने सो प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल यही भदौ २१ गते भुटानसँग र समूह चरणको अन्तिम खेल बङ्गलादेशसँग २३ भदौमा खेल्नेछ ।

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् ।

त्यस्तै भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् । च्याम्पियनसिपको समूहको शीर्ष दुई टोलीले अन्तिम चार (सेमिफाइनल)मा स्थान बनाउनेछन् ।

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन् ।