बेचबिखनविरुद्ध १२औँ राष्ट्रिय दिवसमा प्रभातफेरी

काठमाडौँ, भदौ २० । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १२औँ राष्ट्रिय दिवसको अवसरमा आज राजधानीमा प्रभातफेरी गरिएको छ ।

कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, अधिकारकर्मीलगायतले सहभागिता जनाएका थिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सो अवसरमा मानव बेचबिखन तथा ओसारपसार गम्भीर अपराध रहेको र यसलाई जरैदेखि निर्मूल पानुका लागि सबै पक्षको सहयोगको आवश्यकता पर्ने बताइन् ।

उनले यस क्षेत्रमा क्रियाशील संघ संस्थालाई आवश्यक पर्ने नीति निर्माणलगायत काममा मन्त्रालयले सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएकी छिन् । ‘मिडिया मोविलाइजेसन फर सस्टेनेवल डेभलपमेन्ट’का अध्यक्ष नेहा शर्माले मानव बेचबिखनमा संलग्न तस्करको सञ्जाललाई नभत्काउँदासम्म यस क्षेत्रमा समस्या कायमै रहने बताइन् ।

‘विश्वास नेपाल’का अध्यक्ष तारा भण्डारी, परिवर्तन नेपालका प्रतिनिधि वर्षा लुइँटेललगायतले मानव बेचबिखनमा संलग्न रहने व्यक्ति तथा गिरोहलाई कडाभन्दा कडा कारबाहीको व्यवस्था गर्नुपर्ने माग राखे ।

बाजागाजासहित भृकुटीमण्डपबाट निकालिएको र्याली भद्रकाली, शहीदगेट, नयाँ सडक, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा पुर्याएर सम्पन्न गरिएको थियो ।