भुकम्पको तीन बर्ष बित्दा पनि अघि बढेन पुनःनिर्माण

ललितपुर, भदौ २० । पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिरको भूकम्पबाट क्षति पुगेको तीन वर्ष वितिसक्दा पनि पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन ।

उक्त मन्दिर पुनःनिर्माणको जिम्मा कसलाई दिने भन्ने कुरामा नै अन्योलता रहेको छ । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजिमान प्याकुरेलले जापान सरकारले सो मन्दिर निर्माणका लागि रु १३ करोड सहयोग गर्ने भएको जनाएका छन् ।

कसले पुनःनिर्माण गर्ने भनेर व्यक्तिको टुङ्गो लागेपछि मात्र काम अगाडि बढ्ने उनको भनाइ छ । सो क्षेत्रमा भूकम्प अघि काठमाडौँ उपत्यका विकास कोषले स्मारक पुनःनिर्माणको काम गर्दै आएको थियो । भूकम्पपछि कतिपय स्मारक सरकार आफैँले पुनःनिर्माण प्रारम्भ गरेको छ ।

ठेकेदारको ढिलाइका कारण तथा कतिपय ठेकेदार सम्पर्कमा नआउनाले पुनःनिर्माणको काम तीव्र रूपमा अगाडि बढ्न नसकेको हो ।

कोषले भने काम समयमा नै गर्न सक्ने प्याकुरेलको भनाइ छ । कानूनी प्रावधानका कारण कोषलाई कामको जिम्मेवारी दिन नसकिएको उनको भनाइ छ ।

सरकारले पुनःनिर्माणका लागि गैरसरकारी संस्थालाई रु ६० लाखभन्दा बढी रकम दिन नमिल्ने नियम छ । काठमाडौँको हनुमान दरबार र ललितपुरको देगु तलेजु मन्दिर पुनःनिर्माण गर्न नेपालस्थित जापानी दूतावासले गत वर्ष नेपाल सरकारसँग सम्झौता गरेको थियो ।

विश्व सम्पदा सूचीमा सूचीकृत विभिन्न स्मारकमध्ये देगु तलेजु महत्वपूर्ण मानिन्छ । सो मन्दिर मल्लकालमा राजा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएको इतिहास रहेको छ ।