हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा लागु हुनुपर्ने कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताएका छन् ।
शिक्षामा रुपान्तरण संस्था काठमाडौँको सहयोग तथा नेपाल राष्ट्रिय मावि सुर्खेतले वीरेन्द्रनगरमा बिहीबार आयोजना गरेको ‘क्रियाकलापमा आधारित शिक्षण सिकाइ’ कार्यशाला गोष्ठीमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । बदलिँदो समाजमा व्यावहारिक शिक्षा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको कानूनमन्त्री भण्डारीको भनाइ छ ।
कर्णाली प्रदेश सरकारले सुसंस्कृत, समृद्ध र समुन्नत प्रदेश बनाउने उद्देश्यसाथ चालु आवमा २४ वटा डिजिटल विद्यालय निर्माण गर्ने अभियान थालेको बताउँदै उनले भने– जसमा सिकाइ उपलब्धि हासिल गर्न प्रविधिको प्रयोग साथै सफल अभ्यास गरिनेछन् ।
प्रविधिमैत्री विद्यालय सञ्चालन र खस्किँदै गएको शिक्षा प्रणालीमा व्यापक सुधार गर्नका लागि प्रदेश सरकारले शिक्षा रुपान्तरणका अभियानकर्मीलाई सहयात्री बनाउने कानूनमन्त्री भण्डारीले बताए ।
शिक्षा समन्वय एकाई सुर्खेतका प्रमुख जीतबहादुर शाहले परम्परागत घोकन्ते शिक्षण सिकाइ विस्थापित गर्ने बताउँदै सामुदायिक विद्यालयका शिक्षकहरुले लापरवाही या जागीरमध्ये एउटा छोड्नै पर्नेमा जोड दिए ।
सहयोगी संस्थाका कार्यकारी निर्देशक अर्जुन भट्टले बालबालिकालाई बोलेर पढाउँदा सात र नबोलेर पढाउँदा ९३ प्रतिशत बुझ्नसक्ने बताए । उनले भने– शिक्षण कला हो, लक्ष्यविन्दुमा केन्द्रित हुनुहोस्, कर्म गर्नुस्, छोड्नुभयो भने अस्तित्व समाप्त हुन्छ ।