काठमाडौँ, असार २६ । व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरूले आफूले प्रतिनिधित्व गरेका जिल्लाका विभिन्न समस्या, दुर्घटना, दैवी विपत्ति र रुढीका कारण उत्पन्न असहज परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराएका छन् । केही सांसदले निर्वाचनका बेला अकल्पनीय रुपमा रकम खर्च भएको र त्यसको हिसाबकिताब हुनुपर्ने भन्दै निर्वाचन आयोगको खर्च विवरणमा प्रस्तुत हुने खर्च देखावटीमात्र भएकाले त्यसको वास्तविकता पनि छानबिन गर्नुपर्ने आवश्यकता औल्याए ।
सांसद भेषकुमारी राउतले महिलाका समस्यालाई उठान गर्दै सुङ्गुरको खोरजस्तो स्थानमा रजस्वला भएकालाई राख्दा सर्पले डसेर आफ्नो जिल्लामा एक महिलाको ज्यान गएको बताउँदै सामाजिक कुसंस्कार र कुरीतिको अन्त्यका लागि सरकारले चेतना फैलाउनु पर्नेमा जोड दिइन् भने सांसद श्यामकुमार श्रेष्ठ (काभ्रे)ले स्थानीय तहको निर्वाचन बढी खर्चिलो भएको र एउटै वडामा रु ३० लाखसम्म खर्च भएको सूचना आएकाले निर्वाचन स्वच्छ भयो भनेर गरिएको प्रचारसमेत जायज नभएको बताए ।
त्यसैगरी सांसद जनकराज जोशीले पनि स्थानीय तहको निर्वाचन आवश्यकता भन्दा बढी खर्चिलो भएको र अहिलेको यो स्थितिलाई हेर्दा पैसा नहुने, आस्थाको राजनीति गर्नेले भने निर्वाचन नै लड्न नसक्ने अवस्था बनेको भन्दै राष्ट्रिय दलको मान्यता प्राप्त गरेको दललाई राज्यले सीमित रकम वितरण गरेर चुनावमा सहभागी हुने वातावरण बनाउनुपर्ने धारणा व्यक्त गरे ।
सांसद सोमप्रसाद पाण्डे र तुलसा रानाले तिनाउ खोलाले मे१ज १२१७ नंको जिप बगाउँदा चारजना बेपत्ता भएको र स्थानीय प्रशासनले बेपत्ता नागरिक खोज्न कुनै पहल नगरेकोप्रति गुनासो व्यक्त गरे । यस्तै सांसद टेकबहादुर बस्नेतले दाङबाट रुकुम जाँदै गरेको बस दुर्घटनामा परी दुईजनाको निधन भएको र २५ जना घाइते भएकोमा संसद् र सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई क्षतिपूर्ति दिन आग्रह गरे ।