छिमेकी राष्ट्रको सम्बन्धलाई जनस्तरको सम्बन्धका आधारमा हेरिनुपर्ने : परराष्ट्रमन्त्री

काठमाडौँ, भदौ २४ । असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभएर जनस्तरको सम्बन्धका आधारमा पनि हेरिनुपर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।

आज चिनियाँ दूतावासले चिनियाँ भाषा, कला र संस्कृतिमा आयोजना गरेको प्रतियोगितामा विजयी हुनेहरुलाई पुरस्कार प्रदान गर्दै मन्त्री ज्ञवालीले दुई देशबीच भौगोलिक सन्निकटता, सांस्कृतिक–धार्मिक समानता र विभिन्न समयमा विभिन्न तहमा भएका द्विपक्षीय भ्रमणको आदान प्रदानले सम्बन्धलाई थप बलियो तुल्याउने बताए ।

मन्त्री ज्ञवालीले यस्ता कार्यक्रममा विद्यार्थीको सहभागिताले दुई देशबीचको सम्बन्ध विस्तारका साथै सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तार हुने विचार व्यक्त गरे ।

दुई देशका यस्ता विद्यार्थी हाम्रा सम्बन्धका वास्तविक राजदूत हुन्– उनले भने, यिनीहरुले दुई छिमेकीको सम्बन्धको प्रवद्र्धन गर्नेछन् ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई देशको सम्बन्ध प्रवद्र्धनमा यस्ता खालका गतिविधिले महत्वपूर्ण साधनका रुपमा काम गर्ने बताउँदै विद्यार्थीको सिर्जनशील क्षमता र कलाको प्रशंसा गरे । तीन प्रतियोगितामा २०१ विद्यालयबाट दुई हजार ३०० विद्यार्थीले सहभागीता जनाएका थिए ।