नेपाल बुधबार माल्दिभ्ससँग भिड्ने

काठमाडौँ, भदौ २५ । बङ्गलादेशको राजधानी ढाकामा चलिरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बुधबार माल्दिभ्ससँग भिड्नेछ ।

गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपाल माल्दिभ्ससँग भिड्ने भएको हो । समूह ‘ए’बाट नेपाल समूह विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलङ्काले एक खेलमा पराजय र एकमा बराबरी खेलेपछि गोलाप्रथाद्वारा समूह उपविजेता छनोट गरिएको थियो ।

फाइनल प्रवेशका लागि अब नेपालले माल्दिभ्ससँग आगामी बुधबार ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा प्रतिपर्धा गर्दैछ । दोस्रो सेमिफाइनलमा सोही दिन साँझ ७.४५ बजे भारत पाकिस्तानसँग खेल्नेछ । समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले भुटानलाई ४–० र बङ्गलादेशलाई २–० ले हराउँदै सेमिफाइलनमा पुगेको हो ।

नेपालले दुई गोल खाँदा ७ गोल गर्न सफल भइसकेको छ । माल्दिभ्सले श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो भने भारतसँग २–० ले हार बेहोरेको थियो ।

जारी प्रतियोगितामा दुई खेल खेलेको माल्दिभ्सले गोल गर्न सकेको छैन भने दुई गोल खाएको छ । सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सात पटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसिपको उपाधि हात पारिसकेका छन् ।

नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनल भन्दा माथि पुग्न सकेका छैनन् । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेको हो ।

माल्दिभ्सले घरेलु भूमी र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना गरिएको सन् २००८ को उपाधि जितेको थिया । भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि हात पारिसकेको छ ।