सार्वजनिक शौचलाय निर्माणले गति लिन सकेन

काठमाडौँ, भदौ २५ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणको लागि नमूना तयार गर्न नसक्दा निर्माण कार्यले गति लिन सकेको छैन ।

गत आर्थिक वर्षमा नै शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै आएको महानगरपालिकाले पछिल्लो पटक गत साउन १ गतेदेखि काम थाल्ने जनाउँदै आएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामै दश स्थानमा काम थाल्ने योजना भए पनि शौचालयको नमूना तयार गर्न नसक्दा काम अघि बढ्न नसकेका कामपाको निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेको भनाइ छ ।

एउटा शौचालयको निर्माण लागत रु दश लाख लाग्ने अनुमान गरिएको छ उनले भने तर जति पनि निर्माण गर्छु भनेर आउने कम्पनीले निर्माण गर्न न्यूनतम रु १५ लाख सम्मको लागत लाग्ने ल्याएका छन्, नमूना हामीले भनेको जस्तो छैन, त्यसैले काम अघि बढ्न नसकेको हो ।

महानगरले भने जस्तो शौचालय बनाउनका लागि कम्तीमा पनि चार महिना लाग्छ । पहिलो चरणमा बन्ने शौचालयको प्रभावकारिता र अन्य स्थानको आवश्यकता हेरि थप स्थानमा आवश्यक शौचालय बनाउने योजना रहेको कामपाको भनाइ छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो चुनावी घोषणापत्रमा नै ‘क्लिन द सिटी’ र सार्वजनिक शौचालय निर्माणको काम पहिलो प्राथमिकतामा समावेश गरेका थिए । तर अहिलेसम्म पनि कामले गति लिन सकेको छैन ।

गत वर्ष नै सडक विभागले काठमाडौँका सडक आसपासका विभिन्न ४२ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न कामपालाई अनुमति दिइसकेको छ ।

पानीको समस्याका कारण सुन्धारा, रत्नपार्कलगायत स्थानमा रहेका सार्वजनिक शौचालय प्रयोगमा आउन सकेका छैनन् । सरकारले सन् २०१७ सम्म नेपालका सबै जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखेको थियो ।