महाशाखाको विशेष अभियानमा ३३७ ट्याक्सी कारबाहीमा

काठमाडौँ, भदौ २८ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अभियान अन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । यात्रुले भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा असुल्ने, मिटरमा चल्न नमान्ने र मिटर बिगार्ने जस्ता काम गर्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

महाशाखाले उक्त अभियान यही भदौ २१ गतेदेखि सञ्चालन गर्दै आएकोे छ । भदौ २१ मा ७१, २२ मा ६१, २३ मा ५१, २४ मा ४०, २५ मा ४१, २६ मा ४९ र २७ मा २४ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरिएको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा असुल्दै यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

ट्याक्सीले यात्रुलाई ठग्ने गरेको गुनासो महाशाखामा धेरै आउन थालेपछि विशेष अभियान सञ्चालन गरेको उनको भनाइ छ । यात्रु ठग्ने ट्याक्सी चालकलाई कारबाहीका लागि निरन्तर अभियान सञ्चालन गरिने उनले जनाएका छन् ।
महाशाखाले विशेष अभियान सञ्चालनका लागि ५० ट्राफिक प्रहरी परिचालन गरेको छ ।

नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत रु तीन हजारसम्म जरिवाना गरिएको महाशाखाले जानकारी गराएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टले ठमेल, शिक्षण अस्पताल, माछापोखरी, कलङ्की, कोटेश्वर, विमानस्थललगायतका क्षेत्रमा बढी ट्याक्सीबाट ठगी हुने गरेको पाइएको बताए । सबै ट्याक्सी चालकले ठगी नगरे पनि अधिकांंश ट््याक्सी चालकले भने ठगी गरेको पाइएको उनले जनाएका छन् ।