काठमाडौँ, भदौ २९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायराभित्र ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बन्धित पक्षसित अनुरोध गरेकी छिन् ।
ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई सम्बोधन गर्दै आज राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् कुरा रहेको प्रस्ट पारिन् । उनले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी बनाएको बताउँदै यस दुःखद् घटनाप्रति परिवारजनमा सहानुभूति व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले संविधानप्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नका लागि अनुरोध गर्दै प्रभावकारी र व्यवहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार अन्त्य गर्न सकिने बताइन् ।
बालबालिकामाथि हुुने हिंसा, दुव्र्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्ने उनको भनाइ छ । कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क भएको र त्यसलाई जरैदेखि उखलेर निर्मूल पार्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् ।
आजका बालबालिका भोलिका सक्षम र योग्य नागरिक हुन्, उनीहरुको जन्मदेखि नै स्वास्थ्य एवं शिक्षामा सरकारको विशेष ध्यान जानुपर्ने उनले बताइन् । यस वर्षको बाल दिवसको नारा सुखी नेपाली, समृद्ध नेपाल बालअधिकार सबैको सरोकार भन्ने रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानप्रदत्त बालबालिकाका अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक ऐन तयार गरी मन्त्रालयले संसदमा प्रस्तुत गरेको बताइन् ।
बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार तथा बलात्कारका घटना अन्त्य गर्न सामूहिक प्रयासको आवश्यकता परेको बताइन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव वुद्धिबहादुर खड्काले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न स्थानीय सरकार बढी सम्बेदनशील बन्नुपर्नेमा जोड दिएका छन् ।