अपराधपीडित संरक्षण र बालबालिका विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ, भदौ ३१ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराधपीडित संरक्षण विधेयक, २०७५’ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘बालबालिकासम्बन्धी विधेयक, २०७५’ लाई सदनसमक्ष प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकले मौलिक हकसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित गरिएको हो ।

विधेयक पारित गर्नुअघि दुई सांसद सञ्जयकुमार गौतम र गगनकुमार थापाले बालबालिकासम्बन्धी विधेयक, २०७५ मा बालबालिका आयोग गठन, बालबालिका संरक्षण मापदण्डलगायत विषय छुट भएको बताउँदै सच्याउन माग गरेका थिए ।

सांसद प्रेम सुवालले मौलिक अधिकार कार्यान्वयन गर्न आएका विधेयक कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । सांसद राजनकुमार केसी, पुष्पा भुसाल र अञ्जना शिसङ्खेले बालबालिका विधेयकमाथिको छलफलमा भाग लिँदै आ आफ्ना धारणा राखेका थिए ।

त्यस्तै प्रतिनिधिसभाले मौलिक हक कार्यान्वयनसम्बन्धी हालसम्म १५ विधेयक पारित समेत गरेको छ । संविधानमा असोज २ गतेभित्र सदनले मौलिक अधिकारसम्बन्धी विधेयक पारित गर्नुपर्ने बाध्यता छ ।