बाढीका कारण झापामा २७७ घर जोखिम

झापा, (बनियानी) असार २७ । झापा जिल्लामा केही दिनदेखि लगातार भएको अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । यसरी लगातार आएको बाढीले जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् । नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीले ती घरहरु जोखिममा परेका छन् ।

रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका– ७ दक्षिण पाँच सय मि कटान गरेर बस्तीमा पस्न लागेको स्थानीयहरु बताउँछन् । खोला बस्तीमा पस्ने सम्भावना बढेसँगै त्यहाँ रहेका १५० घर जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी गराए । सो स्थानको निरीक्षणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

त्यस्तै मेची नदीमा पानीको बहाव बढेपछि भद्रपुुर नगरपालिका–३ स्थित भैँसाबाडीका १२५ घर जोखिममा छन् भने मेचीनगर १५ हेल्दुबारीमा निन्दा नदीले जमीन कटान गर्दा स्थानीयवासी दलबहादुर गुरुङलगायतका दुई घर जोखिममा रहेको रेडक्रसले जानकारी गराएको छ ।