काठमाडौँ, भदौ ३१ । पछिल्लो समय सेयर बजार निरन्तर उकालो लाग्दै आइरहेको छ । यस साताको कारोवारको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले बढेको छ ।
कारोवार मापक नेप्से परिसूचक ११.६९ अङ्कले बढेर एक हजार २५६.५३ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ विन्दुले वृद्धि भइ २६६.९३ विन्दुमा पुगेको छ ।
नेप्से परिसूचक मात्रै नभइ कारोवार रकमसमेत उल्लेख्य रुपमा बढेको स्टकले जानकारी गराएको छ । आज कूल १६६ कम्पनीको ३० लाख १६ हजार ४३९ कित्ता शेयर रु ८९ करोड ७८ लाख ९६ हजार ५०८ मूल्यमा खरिद बिक्री भएको छ ।
आज सबै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ १३.७१, होटल ४.३५, विकास बैंक २०.८९, जलविद्युत् ६.५४, फाइनान्स ३.११, निर्जीवन बीमा २०.१८, उत्पादन २६.५१, अन्य ०.५४, माइक्रोफाइनान्स ८.३१ र जीवन बीमा ४८.५ विन्दुले उकालो लागेको छ ।