न्यायको लडाइमा थप दबाब चाहिन्छ : कांग्रेस नेता पौडेल

काठमाडौं, असोज १ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा थप दबाव दिनुको विकल्प नभएको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सामाजिक सञ्जालमार्फत सबैसँग अपिल गरेका छन् ।

घटना भएको ५३ दिन बितिसक्दा पनि राज्यले दोषी पत्ता लगाउन नसक्नुले अपराधी राज्य संरक्षित भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत न्यायको लडाइमा थप दबाब आवश्यक रहेको दाबी गरेका छन् ।

पौडेलले निर्मलाको बलात्कार र हत्यापछि नागरिकबाट दबाव पुग्नेगरी आन्दोलन हुँदैनथ्यो भने, यो घटनाका विशिष्ट अपराधिहरु मुक्त भईसक्ने बताएका छन् । उनले लेखेका छन्, निर्मलाको बलात्कार र हत्यापछि नागरिकबाट दबाव पुग्नेगरी आन्दोलन हुँदैनथ्यो भने यो घटनाका विशिष्ट अपराधिहरु मुक्त भईसक्थे ।

नक्कली अभियुक्त खडा गरिनु, प्रमाणहरु सकेसम्म नष्ट गर्नु, अनुसन्धानलाई प्रभावकारी नबनाउनु , नागरिकमाथि गोली चलाउनुले अपराधिलाई संरक्षण गर्न खोजेको प्रष्ट हुँदा समेत प्रधानमन्त्री गृहमन्त्री र नेकपाका नेताहरुको यस्तो अभिव्यक्ति आउनु अत्यन्तै गम्भिर विषय हो ।

अब थप दबाब दिनुको विकल्प छैन । घटनाको सत्यतथ्य छानबिनका लागि प्रतिपक्षी दल नेपाली कांग्रेसले पटकपटक संसद बैठक नै अवरुद्ध गर्दै आइरहेको छ ।