काठमडौँ, असोज १ । यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका छन् ।
नेपाल अटोमोबाइल एशोसिएशन (नासा) तथा विश्व अटोमाइल सङ्गठन (एफआइए)ले आज आयोजना गरेको दुईदिने ‘विश्व अटोमोबाइल सम्मेलन’ को शुभारम्भका क्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । मन्त्री महासेठले नेपालको विकासमा अन्तर्राष्ट्रिय लगानी आवश्यक भएकाले एफआइएलाई लगानी गर्नका लागि अनुरोध गरे ।
वर्तमान सरकारको ध्यान नै सडक विकास तथा विस्तारतर्फ भएकाले यस क्षेत्रलाई व्यवस्थित बनाउँदै लगिनेमा पनि उनको जोड छ ।
छिमेकी देश चीन र भारतको सहयोगमा नेपालमा हवाई, जल तथा सडक यातायातको विकास हुँदै आएको र अब छिट्टै रेलमार्ग पनि सञ्चालनमा आउने जनाउँदै मन्त्री महासेठले नेपालमा करीब तीन लाख २० हजार भन्दा बढी यातायातका साधन सञ्चालनमा रहेको बताए ।
एशिया प्रशान्तका अध्यक्ष मिके नुनले विश्वको आर्थिक विकासको मेरुदण्ड यातायात नै भएकाले एफआइएले सडक यातायातका साथै पर्यटन र खेलकूद विकासलाई प्राथमिकता दिँदै आएको जनाए ।
नेपालका २० र २५ देशका ४० गरी ६० जनाको सहभागिता रहेको सो सम्मेलनमा अटोमोबाइलसँग सम्बन्धित संघसंस्थाहरुले आ–आफ्ना विचार व्यक्त गर्नेछन् ।
नेपालका सबारी चालकका चालक अनुमतिपत्रलाई विश्वव्यापी मान्यता दिनका लागि सो सम्मेलनमा पहल गरिने जनाइएको छ ।