सरकारलाई समर्थन गर्नु अपराध होइन : नेता महतो

नेपालगञ्ज, असोज २ । राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताएका छन् ।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको बताए । संविधानलाई समयानुकूल संशोधन नगर्नाले संविधान दिवसलाई उत्सवको रुपमा मनाउने अवस्था नरहेको उनको भनाइ छ ।

संविधान संशोधनका विषयमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको सम्झना गराउँदै नेता महतोले वर्तमान सरकारमा सहभागिता भन्दा राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको र सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने दिइरहेको जनाए ।

उनले भने– सरकारलाई समर्थन गर्नु अपराध होइन दुई तिहाइको सरकारलाई अझ बलियो बनाउन हामीले समर्थन गरेका हौँ, साधु सन्त बन्न राजनीति गरेको होइन, सरकारले संविधान संशोधन, रेशम चौधरीको रिहाइ र राजनीतिक मुद्दा फिर्ता लिए सरकारमा जान कुनै समस्या छैन ।

संविधान संशोधनका विषयमा नेपाल कम्युनिष्ट पार्टीसँग विगतमा पटकपटक वार्ता भए पनि कुनै विश्वासिलो वातावरण भने नबनेको भन्दै उनले संविधान संशोधन आश्वासनका रुपमा नभई लिखित रुपमा आउनुपर्ने विचार व्यक्त गरे ।