‘अर्धवार्षिक समीक्षा नभएसम्म पूरक बजेटको चर्चा नगर्ने’

काठमाडौं, असोज २ । पूरक बजेट विनियोजनमा सरकारले अहिलेसम्म कुनै पनि छलफल नगरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

अर्थ मन्त्रालयमा मंगलबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले बजेट कार्यान्वयन सुरु भएको दुई महिनामात्रै भएको र यस सम्बन्धमा कुनै पनि छलफल नभएको जनाएका हुन् । सरकारले अर्धवार्षिक समीक्षा नभएसम्म पूरक बजेटको बारेमा चर्चा नगर्ने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

‘बजेटको अर्धवार्षिक समीक्षापछि सरकारले चाहेको कुनै पनि क्षेत्रमा खर्च गर्न पुगेन वा धेरै राजश्व असुली भएका कारण विनियोजन नयाँ क्षेत्रमा गर्नुपर्ने अवस्था आयो भने पूरक बजेट ल्याइने हो उनले भने– यसबारे अहिले नै चर्चा गर्न आवश्यक छैन ।

बजेट कर्यान्वयनको दुई महिना नपुग्दै अहिले नै पूरक बजेटबारे कुनै चर्चा नभएको उनले प्रस्ट पारे । अर्थ सचिव डा. राजन खनालले पनि पूरक बजेट ल्याउने वा नल्याउने विषयमा अहिले नै कुनै छलफल नभएको जनाएका छन् ।

‘पूरक बजेटको बारेमा संविधानमा नै स्पष्ट व्यवस्था रहेको बताउँदै उनले भने–सोही अनुसार नै हामी अघि बढ्ने हो । केही समयअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पूरक बजेट ल्याउन आवश्यक देखिएको उल्लेख गरे । तर आज अर्थमन्त्री खतिवडाले तत्काल पूरक बजेट नआउने औपचारिक विचार प्रस्तुत गरे ।